सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज, प्रधानमन्त्री ओली सहभागी हुने

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायतको पनि उपस्थित हुने कार्यक्रम छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । 

आयोजनाका योजना प्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । 

सुरुङभित्र केही समस्या आए निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

 सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?