अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए, अनुसन्धान जारी

लोकपथ
812
Shares

काठमाडौं । अछाममा बाख्रा चराउन गएका १४ र १५ वर्षीया दुई किशोरी मृत भेटिएका छन् । शुक्रबार बाख्रा चराउन गएका एकाघरका ती दुई किशोरी खोजीका क्रममा शनिबार दिउँसो मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, कमलबजार विनायक नगरपालिका–१० स्थित विद्याज्योति माविमा कक्षा आठमा अध्ययनरत ढकारी गाउँपालिका–८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार, दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको थियो । उनले घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर मगाइएको बताए ।

शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठूलो भीर रहेकाले उनीहरू त्यहाँबाट खसेका हुन् कि भन्ने बुझाइ पनि प्रहरीको रहेको छ । दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको पनि डीएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?