रुन्चेको ट्रान्सपोर्टमा कसले राख्यो लाखौंको अवैध सामान ? सशस्त्रले छापा मारी बुझायो भन्सारलाई

लोकपथ
875
Shares


वीरगन्ज । आर्थिक नगरी वीरगञ्जको मुटु आदर्शनगरमा रहेको दुर्गा ट्रान्सपोर्टको गोदामबाट अवैध ढंगले भित्रिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँको सामान सशस्त्र प्रहरीले सोमबार बरामद गरेको छ ।

उक्त मूल्यबराबरको सामान भन्सार छली चोरी पैठारी गरी ल्याएर सिधै ट्रान्सपोर्टको गोदाममा थुपारिएको सूचनाका आधारमा छापा मारी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गणका सूचना अधिकारी डीएसपी नरेन्द्रसिंह धामीले बताए ।

दुर्गा ट्रान्सपोर्टको गोदाममा राखिएको सामान कसैले आफ्नो भनी स्वीकार गरेका भने छैनन् । भन्सारका कर्मचारीसहित पुगेको सशस्त्रको टोलीले आवश्यक प्रक्रिया पूरा गरी बरामद गरेको उनको भनाइ छ ।

दुर्गा ट्रान्सपोर्टको गोदाममा फेला परेको सामान कसैले आफ्नो भनी नस्वीकारेकाले भन्सार छली चोरी पैठारी भएको निक्र्योलसहित सोमबार नै वीरगन्ज भन्सारलाई बुझाइएको छ ।

यो सामान ट्रान्सपोर्ट व्यवसायीले काठमाडौंलगायतका ठाउँमा पुर्‍याउने बित्तिकै वैधको खोल ओढ्दा वैध व्यापार र व्यापारी मर्कामा पर्ने गरेको वीरगन्ज उद्योग वाणिज्य संघको भनाइ छ । वीरगन्जका चर्चित ट्रान्सपोर्ट व्यवसायी मदनप्रसाद गुप्ता (रुन्चे) ले सञ्चालन गरेको सो ट्रान्सपोर्टबाट गएको चैतमा पनि अवैध आयातको लाखौँको सामान बरामद भएको थियो । सोमबारको सामान पनि पुनः उनकै गोदामबाट बरामद हुनुलाई विगतकै शैलीको निरन्तरता हुन सक्ने सशस्त्र प्रहरीको दाबी छ । आफ्नै गोदाममा राखिएको सोमबारको सामान उनले नस्विकारेको बरामदमा संलग्न सुरक्षाकर्मीको भनाइ छ । ‘गोदाम उनको हो, तर उनी आफ्नो सामान भनी स्वीकार गर्दैनन्, उनको गोदाममा लाखौंको सामान अरू कसैले सुटुक्क राखिदिने पनि कुरा हुन सक्दैन,’ उनले भने, ‘यो दाबी सरासर गलत हो ।’

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्र वीरगञ्ज नाकाबाट भित्रिएको २१ करोड ७२ लाख २९ हजार ६ सय ३१ रुपैयाँको सामान बरामद गरेको छ । सो सबै सामान वीरगन्ज भन्सार र पथलैया राजश्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल गण नम्बर १३ का डीएसपी धामीले बताए ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा बरामद गरेको सामानमा सोमबार बरामद भएको ५० लाख ९३ हजार ७ सयको लगत अझै नजोडिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?