भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणका दोषी बुढाथोकीलाई १२ वर्ष कैद सजाय 

लोकपथ
504
Shares

काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले बुढाथोकीलाई दोषी ठहर गर्दै सो कैद सजाय सुनाएको हो । यस्तै, ७० हजार रुपैयाँ जरिवानासमेत सुनाइएको छ । 

न्यायाधीशद्वय गुरुङ र खरेलको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेकोमा सोमबार भने सजाय निर्धारण गरेको हो ।

बुढाथोकीसहितको समूहले १ पुस २०६५ मा बाबुराजाको अपहरण गरेका थिए ।

सोले र कुमार उपनामले समेत चिनिने बुढाथोकीलाई यसअघि ५ असोज २०७८ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो । पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको, सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको जस्ता आधारहरू देखाउँदै न्यायाधीश निरौलाको इजलासले उनलाई सफाइ दिएको थियो ।

पर्याप्त प्रमाण भए पनि सफाइ दिएको भन्दै न्यायाधीश निरौलाको आलोचना भएको थियो । बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेपछि उनी विवादमा तानिएका थिए । त्यसपछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो ।

न्यायाधीश निरौलाको फैसलामाथि त्रुटि रहेको भन्दै न्याय परिषद्ले उनीमाथि छानबिनसमेत गरेको थियो । १३ फागुन २०८० मा न्याय परिषद्ले निरौलालाई बर्खास्त गरेको थियो ।

बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जिलिङबाट १५ पुस २०७७ मा पक्राउ गरी थप अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । तर उनी निर्दोष ठहर भएर जेलबाट छुटेको भोलिपल्ट मात्रै प्रहरीले थाहा पाएको थियो । 

यसरी भएको थियो अपहरण

बाबुराजा रावलको अपहरणका मुख्य योजनाकार भने उदय सेट्टी हुन् । अमर टण्डन अपहरणमा पक्राउ परेर जेल चलान भएपछि सेट्टीले नेपालमा अपहरणको भन्दा चलाएका थिए । 

मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो । अपहरणमा प्रयोग भएको उक्त भ्यान कान्ति बाल अस्पतालको पार्किङमा प्रहरीले फेला पारेको थियो ।

यो अपहरणबारे प्रहरीले उनी मुक्त भइसकेपछि मात्रै जानकारी पाएको थियो । 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टी पक्राउ परे पनि उनले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए । 

अनुसन्धानका क्रममा सेट्टीले नै बाबुराजाको अपहरणमा प्रह्लादको संलग्नता हुन सक्ने बताएका थिए । प्रल्हाद सुरुमा सेट्टी समूहमै रहेर अपहरणको धन्दा चलाउने व्यक्ति थिए । 

थप अनुसन्धानका क्रममा प्रह्लादसँगै बाबुराजाको अपहरणमा विष्णु जिसी, सोले, कुमार भनिने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भनिने विकास कार्की, विनोद कार्की, अनिल गुरुङ, सोल्टी भनिने टासी गुरुङको संलग्नता खुलेको थियो । प्रल्हाद पक्राउ परेपछि बाबुराजाको अपहरण नालीबेली खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?