काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ ।
इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो ।
इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘इजरायलमा भर्खरै युद्ध विराम भई शान्ति स्थापना भएको छ ।’ सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरूलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे ।
नेपालको जलविद्युत, पर्यटन, होटेल लगायतका क्षेत्रमा इजरायलेको लगानीका लागि समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानुनहरूले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरुबीच बी टु बी माध्यमाबाट लगानीका अवसरहरू खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आइटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिए । इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषि सँगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको बताए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाई छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजीकरण गर्ने राजदूत बासले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया