काठमाडौं । सभामुख देवराज घिमिरेले शहीदहरुको बलिदानका कारण नै आजको रानजीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्र्दै विभिन्न आन्दोलनको जगमा टेकेर नै अहिलेको अवस्थामा नेपालको राजनीति र व्यवस्था आएको बताए ।
‘मुलुकको स्वाधीनता, लोकतन्त्र, मानवअधिकार र समतामुलक समाजको परिकल्पनाका लागि विभिन्न ऐतिहासिक आन्दोलनमा शहीदहरुले ज्यानको आहुति दिएर देशलाई नयाँ मार्गदर्शन दिएका छन् । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ जस्ता अमर शहीदहरुले दिएको बलिदानको जगमा हाम्रो देशमा राजनीतिक परिवर्तन सम्भव भएको हो,’ सभामुख घिमिरेले भनेका छन् ।
त्यस्तै उनले शहीदहरुले देखाएको मार्ग अनुशरण गर्न आजको आवश्यक्ता रहेकोमा जोड दिए ।
‘विभिन्न आन्दोलनको जगमा अहिले हामी संघीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेका छौँ । लोकतन्त्रका खातिर जीवन आहुति दिने शहीदको सपनालाई साकार पार्नु हाम्रो साझा दायित्व हो । शहीदहरुले चाहेको न्यायपूर्ण समाज, समानता र समृद्धिका लागि हामीले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्दछ । निष्ठा, पारदर्शिता र इमान्दारीका साथ काम गर्दै शहीदहरुले देखाएको मार्ग अनुशरण गर्न आजको आवश्यक्ता हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया