ताप्लेजुङमा केबलकार निर्माणको विषयमा योगेश भट्टराईले राखे यस्ता सर्तहरु

लोकपथ
329
Shares

कठमाडौं । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्ब वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधीन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ जिल्लाका सांसद भट्टराईले यस्तो माग गरेका हुन् ।

उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सूसभ्य हुनुपर्ने बताए । उनले केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने बताए । 

उनले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । 

उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरू रिहा गरी घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे । उनले केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्नुपर्ने बताए । 

उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउन माग गरे । 

उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए । 

सांसद भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने बताए । उनले रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरे । 

उनले केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्नेमा उल्लेख गरे । 

उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने बताए । उनले सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गरे ।

संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको उल्लेख गरे । 

पाथीभराको मुख्य मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने बताए । उनले पाथीभराको टुप्पोमा कुनै होटेल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिबद्धता जनाए । उनले रुख तथा पोल गरेर २ हजार ११२ कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?