काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् ।
बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताएका हुन् ।
उनले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ ।
उनले सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे । उनले मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत स्पष्ट पारे ।
उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ । उनले अब युवाहरूले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकूल राजनीति गर्न युवाहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया