काठमाडौं । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दसौँ बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए ।
उनकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।
त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरूलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताए । बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रूपमा देखिएको निष्कर्ष निकालेको छ ।
बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरूलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताए ।
बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताए । बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्रम भव्य भएको निष्कर्ष निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया