अखिल क्रान्तिकारीमा पहिलोपटक ३२ वर्ष मुनिको नेतृत्व, अध्यक्षमा सापकोटा निर्वाचित

लोकपथ
350
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् ।

बुधबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार सापकोटा ७३ मतको अग्रतासहित विजयी हुन् ।

निर्वाचन समितिका अनुसार सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाएका छन् ।

सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ । त्यस्तै ३१० मत ल्याउँदै उपदेश यादव तेस्रो भएका छन् । त्यस्तै सुदिन पौडेलले जम्मा १९२ मत प्राप्त गरे ।

गत माघ १२ गते ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि निर्वाचन भएको थियो ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे हदम्याद लागू भएको पहिलोपटक नेतृत्व चयन भएको हो । गत असोज १० देखि १५ गतेसम्म २३औँ राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । त्यसमा ३२ वर्षीय हदम्याद लगाउने कि नलगाउने भन्ने विवाद हुँदा सम्मेलन सरेको थियो । अहिले ३२ वर्षे हदम्यादको पक्षमा माहोल बनेपछि नयाँ मापदण्ड अनुसार नेतृत्व चयन भएको हो ।

त्यसो त यसअघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ३२ वर्षे हदम्याद लागु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?