‘भन्सारका समस्या कम गर्न बजार अनुगमन र आयकरको मापदण्डलाई दरिलो बनाउन जरुरी’

लोकपथ
252
Shares

काठमाडौं । भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बारको बैठकमा ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । 

वस्तुको वर्गीकरण सहज देखिए पनि प्राविधिक रूपमा कठिन हुने उनीहरूको धारणा छ । बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वर्गीकरणमा फरक परेमा वस्तुको मूल्यमा समेत फरक पर्ने उल्लेख गर्दै वस्तुको प्रकृतिअनुसार वर्गीकरण गरिनुपर्नेमा जोड दिए ।

उनले भन्सारका कर्मचारीले वस्तुको वर्गीकरण गर्न नसकेको अवस्थामा विज्ञको समेत सुझाव लिन सक्ने बताए । वर्गीकरणमा कुनै दुबिधामा भएमा वस्तुको नमुना भन्सार विभागका महानिर्देशकलाई पठाउने र विभाग प्रमुखले प्रचलित मान्यताअनुसार वर्गीकरण गरिदिने गरी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले वस्तुको वर्गीकरण भन्सार संगठनसँग गर्नुपरेको अवस्थामा समयसिमा राख्न उचित नहुने सचिव घिमिरेको भनाइ छ । 

बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बजार अनुगमन र आयकरको मापदण्डलाई दरिलो बनाउने गरी कानुन निर्माण गर्नुपर्ने बताए । आयकरको मापदण्ड व्यवस्थित र बजार अनुगमनलाई दरिलो बनाउन सके भन्सारमा देखिएका समस्याहरू स्वतः कम हुँदै जाने उनको भनाइ छ ।

उनले आन्तरिक राजश्वको प्रणालीलाई व्यवस्थित र दरिलो बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिए । उनले वस्तुको मूल्य निर्धारण गर्ने कुरा भने भन्सारसम्बन्धी कानुनको कार्यक्षेत्रमा नपर्ने बताए । वस्तुको वर्गीकरण र मूल्याङ्कन सही ढंगले गर्न सके भन्सार राजश्वमा वृद्धि हुने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?