काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा राष्ट्रिय सभामा समेत विपक्षी दलहरुले विरोध जनाएका छन् ।
आज राष्ट्रिय सभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आफू र सरकारलाई समेत सो विषयको जानकारी भएको भन्दै बस्न आग्रह गरे । तर विपक्षी दलका सांसदहरुले भने आफूहरुले सरकारको जवाफ माग गरेको भन्दै विरोध जनाइरहे ।
यता प्रतिनिधि सभा बैठकमा समेत सोही विषयमा विपक्षीहरुको विरोध रहँदा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि झण्डै दुई घण्टा हुँन लाग्दा समेत बैठक सुरु हुन सकेको छैन ।
बैठकमा विपक्षीका तर्फबाट बोल्दै माओवादी सांसद गोपी बहादुर सार्की अछामीले प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्पष्टीकरण नदिइकन सदन अघि बढाउन नदिने चेतावनी दिए ।
‘जबसम्म प्रधानमन्त्रीले सरकारको तर्फबाट स्पष्टीकरण दिनुहुन्न तबसम्म हामी यो सदन नचलाइयोस् भन्न चाहान्छौँ,’ उनले भने ।
विपक्षीहरुको निरन्तर विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया