तीनकुने घटना : सुरेशको एक्सरे रिपोर्ट आयो, केहीबेरमा पोस्टमार्टम

लोकपथ
2.9k
Shares

काठमाडौं । शुक्रबार तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको एक्सरे भएको छ ।

शुक्रबार नै परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरेशको शव पुयाईएको थियो । घटना शंकास्पद देखिएपछि एक्सरे गरेर मात्रै उनको शवको पोस्टमार्टम गर्ने भनिएपछि पोस्टमार्टम नै ढिला हुन पुगेको हो ।

शरिरमा गोली लागेको हुनसक्ने हल्ला र आशंकापछि पोस्टमार्टमका लागि तयारीमा रहेका चिकित्सकहरुले एक्सरे नगरी अरु प्रक्रिया अघि नबढाउने भनेका थिए । सोही कारण सुरेशको पोस्टमार्टममा समेत ढिलाइ भएको थियो ।

मंगलबार नै सुरेशको एक्सरे भएको तर त्यसको रिपोर्ट सार्वजनिक नभइसकेको त्रिवि शिक्षण अस्पताल महारागञ्ज फरेन्सिक विभागका विभागीय प्रमुख गोपाल चौधरीले लोकपथलाई जानकारी दिए ।

साथै बाहिर हल्ला फैलिएजस्तो उनको शरिरमा अन्य कुनै पनि वस्तु नभेटिएको र केहीबेरमा पोस्टमार्टम प्रक्रिया सुरु हुने उनले बताए ।

‘एक्सरे पनि पोस्टमार्टमै प्रक्रियाभित्र पर्दछ । पूरै शरिर जलेको अवस्थामा एक्सरे गर्नुपर्ने हुन्छ । सुरेशको शरिरको एक्सरे भइसकेको छ । तर हामीले रिपोर्ट सार्वजनिक गरेका छैनौँ । हामी केही बेरमा रिपोर्ट सार्वजनिक गरेर पोस्टमार्टमको काम सुरु गछौँ,’ उनले भने ।

बाहिर सुरेशको शरिरमा गोली भेटिएको भन्ने हल्ला पनि देखिन्छ, भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘यी सबै हल्ला र अफवाह मात्र हुन् । हामीले रिपोर्ट सार्वजनिक नै गरेका छैनौँ ।’

त्यस्तै पोस्टमार्टम रिपोर्ट आएपछि आजै सुरेशको पार्थिव शरिर अन्त्येष्टी गरिने सुरेशका दाई दिनेश रजकले लोकपथलाई जानकारी दिए । त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित शोभा भगवतीमा सुरेशको अन्त्येष्टी हुने उनले बताए ।

एबीन्युज टेलिभिजनमा कार्यरत रहेका सुरेश राजावादीहरुको आन्दोलनका क्रममा रिपोर्टिङका लागि तीनकुने पुगेका थिए ।

एबीन्युजका क्यामरापर्सन रहेका सुरेश प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुन थालेपछि उनी तीनकुने चोकमा रहेको मार्बल हाउसको माथिल्लो तलामा उक्लिएका थिए । त्यहाँ राजावादी समर्थकहरुले मार्बल हाउसका सबै तलामा तोडफोड गरिरहेको दृश्य सुरेशले नै खिचिरहेको भिडियोहरु समेत सार्वजनिक भएको छ ।

सो क्रममा भवनमा आगो लाग्यो, त्यहाँ रहेका अन्य व्यक्तिहरु भागे पनि उनी भाग्न नसक्दा जलेर मृत्यु पुगेको थियो । यसअघि अन्य जोखिमपूर्ण रिपोर्टिङ गरिसकेका सुरेश त्यहाँबाट भाग्न सक्ने अवस्था रहँदारहँदै मृत्युको मुखमा पुग्नुले घटनामा आशंका रहेको परिवारका सदस्यहरुले बताउँदै आइरहेका छन् ।

उक्त घटनापछि प्रहरीले त्यसबारे सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?