राजनीतिमा ‘हार्ड वर्क’ को खाँचो छ : डा. महत

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरे । उनले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताए । उनले सत्तामा रहे पनि वा नरहे पनि नेपाली कांग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताए ।

सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गरे ।

उनले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए ।

सांसद महतले भने, ‘मेहनतबाट नै देश निर्माण हुन्छ । पोल्टिकल तहमा पनि मेहनतको थप खाँचो छ । अनेस्टीको थप खाँचो छ । गैरसरकारी क्षेत्र, जुन निजी क्षेत्र छ, त्यहाँ पनि हार्ड वर्किङ र अनेस्टीको खाँचो छ । जहाँ हामी काम गर्छौं त्यो मेरो काम हो भनेर गर्नुपर्छ । हार्ड वर्क पनि गरौँ, अधिकारको बारेमा पनि खबरदारी गरौँ । नेपाली कांग्रेस पार्टी जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भएपनि र सत्ताभित्र भएपनि । बोल्नुपर्ने कुरामा बोल्छ । अब जुन कुरा लाग्छ, त्यसमा विचार गर्नुपर्छ पनि भन्छ । हामी जिम्मेवार पार्टी हौँ । नयाँ पुराना जसको कुरा गर्नुस् । नेपाली कांग्रेसको अनुभव, प्रतिवद्धता जुन छ, अफ्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरुले अधिकारको रक्षा गर्न सक्दैनन् । कमी, कमजोरी हुन्छन् । तर डेमोक्रेसीमा जनताले खबरदारी गर्दछन् । खबरदारी सुनेन भने पराजित हुनुपर्छ । त्यही नै डेमोक्रेसीको सुन्दरता हो ।’

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद महतले वित्तीय संस्था सम्बन्धी जोडिएका विषयहरुमा पनि गम्भीरताका साथ हेरिरहेको बताए । वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गरे । जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?