काठमाडौं । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा घटेकाले उपत्यकावासीलाई केही राहत मिलेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौं उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नम्बरमा सूचीकृत भएको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको थियो । आज भने यो समाचार तयार गर्दासम्म प्रदूषण घटेर एक सय ४७ एक्यूआईमा झरेको छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज शुक्रबार हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँमा पुगेको बताए । ‘काठमाडौं कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ,’ उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशनसहितको सुझाव दिइरहेका छौँ । यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबिचको समन्वय जरुरी छ ।’
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरमा हावा प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि भएको वातावरण विभागले जनाएको छ ।
प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरू, मुटुका बिरामी, गर्भवतीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट हुने धुवाँ धूलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोका कण (पीएम २ दशमलव ५)को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । यसअनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ । यस्तो प्रदूषित हावा स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ । सन् २०१९ को एउटा तथ्यांकले नेपालमा वायु प्रदूषणसम्बन्धी रोगका कारण बर्सेनि ४२ हजार जनाको ज्यान गइरहेको देखाएको थियो ।
हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा ओर्लिन्छ । सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ । अझ नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति थप खराब हुन पुग्छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा अध्ययन गरेर १ वर्षपछि सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ । त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग पर्छन् । त्यस प्रतिवेदनमा भनिएको छ, ‘हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग ‘सीओपीडी’ र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेका छन् ।’ मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ । ‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यस क्षेत्रका मुलुकले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालले वायु प्रदूषण घटाउन सके तराईका बासिन्दाले ५ दशमलव २६ वर्ष बढी बाँच्न पाउनेछन् भने काठमाडौंवासीले सरदरमा २ दशमलव ५८ वर्ष बढी जीवन पाउनेछन् । जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धूलोका कण (पीएम २ दशमलव ५) विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (५ माइक्रोग्राम प्रतिघनमिटर) भन्दा २० गुणासम्म बढी रहेको पाइएको छ । उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धूलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ । त्यसैगरी, फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने अध्ययनले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया