काभ्रेमा २३ प्रतिशत खानेपानीमा दिसाको किटाणु, जारको पानीसमेत दूषित देखिएकाले हैजाको खतरा

लोकपथ
483
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको २३ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जनस्वास्थ्य कार्यालय धुलिखेलले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नमुनाका ८८ स्थानबाट संकलित खानेपानी परीक्षण गर्दा २३ प्रतिशत खानेपानी दूषित रहेको पुष्टि भएको जनाएको हो ।

जिल्लाका १३ स्थानीय तहमा सञ्चालित विभिन्न खानेपानी आयोजनाका ८८ स्थानको पानी परीक्षण गर्दा २० स्थानको दूषित भएको पुष्टि भएको कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठले बताइन् । उनका अनुसार स्थानीय तहका विभिन्न उपभोक्ता समिति, खानेपानी संस्थान तथा अन्य स्रोतको पानी परीक्षण गरिएको हो । कार्यालयले नियमित खानेपानी परीक्षण गरिरहेको बताउँदै श्रेष्ठले प्रदूषित पानीमा दिशाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली)भेटिएको जानकारी दिइन् । 

जिल्लाका स्थानीय तहमा गरिएका अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा संकलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ, कतिपय स्थानमा निजी रूपमा वितरित खानेपानी मा कीटाणु भेटिएको श्रेष्ठले बताइन । उनले भनिन्, ‘जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा नराम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको पनि हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।’ 

कार्यालयको प्रयोगशालामा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत नेपाली सेनाको गुल्म तथा ब्यारेक, नेपाल प्रहरी तथा स्थानीयको निजी इनारको पानी परीक्षण गरिन्छ । उक्त प्रयोगशालाको परीक्षणबाट दूषित पुष्टि भएको खानेपानीको स्रोतमा उपचारका विधि अपनाउन लगाइएको ल्याब टेक्निसियन निरीक्षक भोलानाथ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?