बार निर्वाचन : मतगणना सोमबारदेखि

लोकपथ
112
Shares

काठमाडौं ।  नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । 

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौं आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । 

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धा गरेका छन् । 

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?