काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद कोइरालाले नेतृत्व तह नै बिचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे ।
उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि बिचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए ।
उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै उनले बिचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।
सांसद कोइरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसद्को रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गर्नुभएको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए । कांग्रेस एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताए ।
देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताए । उनले त्यहाँ पनि बिचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गरे ।
राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताउनु भयो । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताए । सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य सावित हुन नसकेको बताए । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उनको भनाइ छ ।
सांसद कोइरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताए । उनले सबै प्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया