आफैं घर बनाउने भूकम्पपीडितले पनि एकमुष्ट ३ लाख रुपैयाँ पाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने विषयमा लामो समयसम्म अन्योलता छाएको थियो ।

प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व नै बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसंगै अन्योलताको अत्या भएको हो ।

प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेपछि अब द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणले जानकारी दिएको छ ।

अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् । ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् । २ लाख ११ हजार घर पुनर्निर्माणको क्रममा छन् ।

प्राविधिक खटिनपूर्व भने करीव १२ हजार घर बनेको तथ्यांक प्राधिकरणसँग छ ।

यसअघि निर्माण भइसकेका एक कोठे घरले पनि छुट्टै भूकम्प प्रतिरोधी भान्सा घर र कोठा, शौचालय र बरण्डा र पाली पुनर्निर्माण गरेको भएमात्रै अनुदान किस्ता सिफारिस गर्ने निर्णय भएको छ ।

अन्तिम किस्ता सिफारिस भइसकेको भएमा भने सम्बन्धित स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा सो कुराको एकिन गरेर मात्र दिने निर्णय बैठकले गरेको छ । आफू बस्ने घर पुनर्निर्माण गर्दा सम्बन्धित घरधनीलाई समेत जवाफदेही गराउने उद्देश्य रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?