अब मोबाइलबाटै ट्याक्सी सेवा

काठमाडौं । अब उपत्यकाका यात्रुहरुले मोबाइलबाटै ट्याक्सी सेवा प्राप्त गर्न सक्नेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा शुरु गरेको छ ।

उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो ।

प्रविधिको बढ्दो प्रयोगलाई आत्मसाथ गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परिक्षण गर्दै आएको छ ।

अब भने समाजले इजीट्याक्सीनेपालमार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो ।

‘इजीट्याक्सीनेपाल’ ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकाभरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल’ एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?