किन सक्रिय भएन मनसुन ? यसो भन्छन् मौसमविद्

काठमाडौं । भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको हो । यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको हो ।

यस्तै मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

उनका अनुसार स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको हो ।

बिहीबार पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । तर बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ । नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?