काँग्रेसको प्रश्नः विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विर्सजित भएको हो ?

appharu
0
Shares

काठमाडौं– नेपाली काँग्रेसले सरकारले नागरिक जीवनका प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गरेपनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएको छ ।
काँग्रेसले सरकारले नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको थियो । तर अहिले आएर सरकारले एकाएक कुनै परिक्षण वेगर भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर छ । नेपाली कांग्रेस यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद रहेको पनि काँग्रेसले जनाएको छ ।

विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी पनि काँग्रेसले जनाएको छ । काँग्रेसले भनेको छ, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

नागरिक जीवन माथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै नेपाली कांग्रेसले विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?