सिन्धुपाल्चोकमा बाढीले बगाउँदा इन्जिनियरसहित २ जना वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको अबिरल वर्षापछि आएको बाढीले बगाउँदा भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् भने दुई जनाघाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ ।

भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते छन् ।

उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइएको छ ।

घटना शनिबार मध्यरातिको भए पनि आइतबार बिहान ७ बजेमात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?