पूर्वउपसचिवसहित ८९ जना फरार सूचीमा

appharu
0
Shares

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न ८९ आरोपितलाई फरार सूचीमा राखेको छ। ललितानिवासको जग्गा हिनाबिलश्रसम्बन्धी अनुसन्धानमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि आयोगले पूर्व उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, व्यापारिक घराना गोयल समूहका अध्यक्ष कैलाशचन्द्र गोयल, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित ८९ आरोपीलाई फरार सूचीमा राखेको हो।

फरार सूचीमा राखिएकामध्ये ५९ आरोपितको तीनपुस्ते हुलिया र स्थायी ठेगाना नै खुलेको छैन। तीनपुस्ते हुलिया नखुलेका व्यक्तिलाई भूमाफिया र मालपोतका कर्मचारीले नक्कली मोही खडा गरेर जग्गा हडपेको अनुसन्धानमा संलग्न आयोग स्रोतले जानकारी दियो। ललितानिवासको एक सय १४ रोपनी जग्गा हिनामिनासम्बन्धी पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएपछि पूर्वउपसचिव केसीसहित भूमाफियाद्वय सुवेदी र ढकाल फरार भएका थिए।

फरार सूचीमा राखिएका व्यक्ति सात दिनभित्र उपस्थित भई आफूमाथि लागेको अभियोगमा सफाई पेश गर्न सक्नेछन्। तर उपस्थित नभए कानुनले दिएको अधिकार प्रयोग गरी सरकारी जग्गा हिनामिनासम्बन्धी प्राप्त तथ्य, प्रमाण र उपलब्ध अन्य प्रतिवादीको बयानका आधारमा विशेष अदालतमा मुद्दा दायर प्रक्रिया अघि बढाइनेछ।
आयोगले बुधबार र बिहीबार भूमाफियाद्वय सुवेदी र ढकाल, भाटभटेनीका सञ्चालक कल्याण गुरुङ, उद्योगपति गोयलसहित किर्ते कागजात बनाएर सरकारी जग्गा हिनामिना गरेका नक्कली मोही, जग्गाधनी, बिचौलिया र उपसचिव सहित ८९ जनालाई सार्वजनिक सूचनामार्फत आयोगमा उपस्थित हुन आग्रह गरेको छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?