काठमाडौं । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेकोमा नेविसंघले बिरोध प्रदर्शन गरेको छ ।
सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिरहेको बेला राजधानीको बालाजु–नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडी प्रदर्शन गरिएको हो ।
तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाइनु पर्नेमा नेता भट्टले जोड दिए ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो ।
यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया