काठमाडौं । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।
पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन ।
टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो । खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ ।
खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ । बसपार्कमा बनेको पानीको पोखरीले बस चढ्न जानसमेत मुस्किल हुने गरेको यात्रुहरुको गुनासो छ । बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडकमा आई राष्ट्रियसभा गृहअघिसम्म धुलो उड्ने गरेको छ ।
यो मार्गमा हिँड्ने याात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अवस्था छ । मास्क नबोक्ने यात्रुले रुमालले मुख नाक छोपेर हिँडेको देखिन्छ । महिला यात्रुले भने सलले नाक मुख छोपेर हिँड्ने गरेका छन् । राजधानीको महत्वपूर्ण स्थानमा रहेको बसपार्कसमेत सरोकार भएका निकायले व्यवस्थित गर्न नसक्दा राष्ट्रिय अन्तरराष्ट्रियरुपमा राम्रो सन्देश नजाने यात्रु रमिला महर्जनको भनाइ छ ।
बसपार्क रहेको महानगरपालिका– २८ कार्यालयले भने पुरानो बसपार्क व्यवस्थित गर्ने काम केन्द्रीयकरण भएकाले समस्या आइरहेको जनाएको छ । वडाध्यक्ष भाइराम खड्गी पुरानो बसपार्कसम्बन्धी जन गुनासो धेरै आएकाले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउछन् ।
“पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजान्छ, अव्यवस्थित संरचनालाई व्यवस्थित पनि गर्दैन गुनासो जति वडा कार्यालयमा आउँछ, असार २९ गते बस्ने नगरसभा बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउँछु”, उनले भने ।
पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ । यहाँ ढलसमेत व्यवस्थित नगरिएकाले कहिले त ढलको कुलो नै बग्ने गरेको छ । बसपार्क अव्यवस्थित हुँदा दृष्टिविहीन, अपाङ्गता लगायतलाई समस्या हुने गरेको छ ।
वीर अस्पतालअघिबाट निजी सवारी साधन सडक झैँ गरी पुरानो बसपार्कमा छिर्न दिँदा पनि यहाँ यात्रुले असुरक्षित अनुभव गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया