ओलीलाई चौधरीको प्रश्नः माओवादीलाई चितवन दाईजो दिएर हामीले सुख पाएनौं, तपाईले घर दिएर सुख पाउनुहुन्छ त ?”

दाङ, १५ मंसिर । दाङ क्षेत्र नम्बर ३ का प्रदेश सभा क बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्धवार रहेका डिल्ली चौधरीले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने र सरकार बनाउने ठोकुवा गरेका छन् शुक्रबार एक साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका छन् । देशैभरि नेपाली कांग्रेसको पक्षमा व्यापक जनलहर देखिएकोले आफ्नो पार्टीले चुनाव जित्नेमा कुनै शंका नभएको उनको जिकिर थियो उनले शंकर पोखरेललाई पाहुना उम्मेद्धवारको संज्ञा दिए । उनले भने,“उहाँको पार्टीलाई सोध्नुहोस्, माओवादीलाई अपमान गर्नकोलागि यो गर्नुभएको हो। यो माओवादीको दाबेदार रहेको क्षेत्र हो, तर माओवादी नेता तथा कार्यकर्ताहरुलाई अपमान भएको छ ।”जनताले आफूलाई विजयी गराउँने उनको दाबी थियो । चौधरीले थपे, “नेपाली कांग्रेसलाई जिताउने लहर चलेको छ । म त पार्टीको सिपाही हुँ, त्यसैले म अत्यधिक बहुमत ल्याएर जित्दैछु ।”एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कुनै हालतमा पनि धेरै टिक्ने उनको ठोकुवा थियो । उनले भने,“यो गठबन्धन दिगो हुने सक्दैन, हामीले त माओवादीसँग चुनावी तालमेल गरेर देखाईसकेका छौं । हामीले पनि अनुभव गरिसकेका छौं । ओली र प्रचण्डको कुकुर विरालोको झगडा हामीले हेरिसकेका छौं, उनीहरुले तल्लो स्मरतमा उत्रिएर गाली गरेको पनि हामीले देखेका छौं । झगडा गर्ने पार्टीहरु अहिले केही दिनकालागि मिलेका छन् ।”माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति व्यंग्य गर्दै चौधरीले भने,“नेपाली कांग्रेसले त चितवन दाईजो दियो, तर उहाँहरु(एमालेका साथीहरुले) त ४० प्रतिशतको कुराले घर नै दिँदैहुुनुहुन्छ । अहिले भन्नुहुन्छ, उहाँहरु अब धेरै लामो समयसम्म सँगै रहनहन्न । आजैको मितिमा मेले ठोकुवा गरें । दाईजो दिएर हामीले सुख पाएनौं, उहाँले घर दिएर सुख पाउनुहुन्छ त ?”उनले उक्त क्षेत्र दाङमा सबैभन्दा बढि विकास भएको क्षेत्र भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?