पहिरो र बाढीपीडित अन्धकारमा रात कट्न बाध्य

म्याग्दी, १८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बाढी र २ बैंसरीका पहिरोपीडित बस्दै आएको टहरामा विद्युत् सुविधा नभएपछि अन्धकारमा रात कटाउन बाध्य भएका छन् टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ । विद्युत् सुविधा नहुँदा छिमेकी गाउँमा गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । दाताले टहरामा जडान गरेको सोलार टुकीले काम गर्न छाडेपछि उनीहरु मट्टितेलको टुकीको भरमा रात कटाउन बाध्य भएका छन् खानेपानी र विद्युत् अभावमा दैनिक जीवनयापन कष्टकर बनेको पहिरोपीडित भेमबहादुर गर्बुजाले बताए । विसं २०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले भगवतीको बैँसरी गाउँ पुरिदा २७ परिवार घरबारविहीन भएका थिए यसैगरी २०७३ साल भदौ १७ गते राति बेगखोलामा आएको बाढीले बस्ती बगाएपछि ११ घर विस्थापित भएका थिए । टहरामा बस्दै आएका पहिरो र बाढीपीडितले स्थायी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन् । बैँसरीको घर पुरिएपछि पिप्लेको राहुपारेस्थित बेनी–जोमसोम सडकको छेउमा रहेको सामूहिक टहरामा सात घरपरिवार पहिरोपीडित बस्दै आएका छन् । चार घरपरिवार पहिरोले पुरिएको पुरानै ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन् । केही बेनी, पोखरा गएर कोठा भाडा लिएर बसेका छन् अन्य ठाउँमा घरजग्गा नभएका पीडितलाई अहिले बसोबास गरेकै अथवा नयाँ उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । बेगखोलाको बाढीले बसोबास गर्दै आएको घरजग्गा बगाएपछि त्यहाँका ११ परिवार स्थानीय एक व्यक्तिको पाखो जग्गामा पालको टहरा हालेर बसेका छन् तत्कालीन अवस्थामा प्रशासन, रेडक्रस र विभिन्न संघसंस्थाले आकस्मिक राहत सामग्री उपलब्ध गराए पनि त्यसपछि कसैले वास्ता नगरेका बाढीपीडित अतिमाया बुढाथोकीले बताए । उनीहरुको बसोबासका लागि बेगखोला कल्याणकारी समाज बेलायतले नगदसमेत जुटाएको भए पनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?