अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

तेह्रथुम, ८ पुस । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् ।

वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार रु ३५० देखि ५५० सम्म भएको थियो । तर यो वर्ष हाल रु १०० देखि १५० मा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताए ।

“पहिले कमाइ राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे”– उनले भने, “अहिले सबैले खेती गरेका छन्, उत्पादन पनि बढी छ, त्यसैले मूल्य पनि कम छ ।” खेती विस्तारका लागि सबैले सहयोग गर्ने, तर बजारीकरणका लागि कसैले वास्ता नगरेपछि वर्षेनी सबै कृषिउपजको बजारमा समस्या सिर्जना हुँदै गएको उनी बताउछन् ।

हरेक वर्ष अकबरे खोर्सानीको बजार जेठ मसान्तदेखि शुरु हुन्छ । यो वर्ष पनि सुरुआतमा हरियो खोर्सानीको कारोबार रु ४०० सम्ममा समेत भयो । तर यही मौसममा ह्वात्तै घटेर अकबरेको मूल्य रु १०० मा झरेको हो मूल्य घटेपछि किसानलाई मर्का परेको सुदापस्थित नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताए । “समूहमार्फत हामीले सामूहिक खेती पनि गरेका छौँ, घरैपिच्छे अकबरे खोर्सानीको खेती ठूलो छ”– अध्यक्ष खड्काले भने, “तर मूल्य नपाएकाले खेती नै संकटमा परेको छ ।” मूल्य घटेकाले यही खेती लगाइरहने या अर्को खेती लगाउने भन्नेबारे किसान अन्योलमा परेको उनले बताए ।

अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ । दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र तेस्रोदेखि पाँचौँ वर्षसम्म पनि उत्पादन हुन्छ । अकबरेको एउटा बोटमा असारदेखि निरन्तररुपमा माघसम्म फल लागिरहन्छ परम्परागतरुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेको खेती अहिले व्यावसायिक बन्ने क्रममा छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लामा अकबरे खोर्सानी खेतीको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाले किसानलाई तालीम र बीउबिजनमा सहयोग गरेका छन् थोरै मेहनत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका थिए । अन्नबालीभन्दा कम मेहनत र लागतले पनि अकबरे खेतीबाट आम्दानी हुन थालेपछि व्यावसायिक खेती थालेको किसान बताउँछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?