काठमाडौं । चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरी पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार र ७५ हजार गरी एक लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट दुई लाख धरौटीमा छुटेका थिए ।
निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया