स्मार्ट पार्किङ सेवा आजदेखि शुरु, यस्ता छन् सुविधाहरु (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं । राजधानीमै पहिलोपटक स्मार्ट पार्किङ सेवा सुरु भएको छ ।  निजी क्षेत्रसंगको सहकार्यमा काठमाडौं महानगरपालिकाले राजधानीको मुटु न्यूरोडका पाँच स्थानमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सो सेवा सुरु गरिएको बताएका छन् ।

मेयर शाक्यका अनुसार यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको र यसलाई परिस्कृत गर्दै लगिने छ ।

उनले भने; ‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ’ ।

पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ । स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।

स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै Park KTM एप्स डाउनलोड गरि रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् । उक्त एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
 

पार्किङ बुकिङ्ग गरेको १५ मिनेटभित्र तोकिएको ठाउँमा सवारी पुग्नुपर्ने छ । 

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?