गर्मी बढेको छ । पृथ्वीको तापक्रम वृद्धि हुँदै गइरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । जीवजन्तु तथा मानवको ज्यान गइरहेको छ । अघिल्लो वर्ष २०१८ मा पृथ्वीको औसत तापक्रम १.५ थियो भने यस वर्ष तापक्रम बढेर १.५८ डिग्री सेल्सियस पुगेको छ । पछिल्लो १ शताब्दीको तथ्याङ्क हेर्ने हो भने पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको देखिन्छ ।
हरेक वर्ष द्रूत गतिमा बढिरहेको तापक्रमको मुख्य कारण हो ‘ग्लोबल वार्मिङ’ । ग्लोबल वार्मिङ विश्वव्यापी मुद्दा बनेको छ । जसको समाधान खोज्दै कहिले हिमालको काखमा त कहिले समुद्रकोमुनि विश्व सम्मेलन हुन्छन् । वातावरणमैत्री विकास हुनुपर्छ भन्ने नारा लगाइन्छ तर, प्रतिफल शुन्य । केही अविकसित, विकासोन्मुख तथा साना गरिब देशमा रुखरोपण गर्ने जनचेतना फैलाउनलाई होस् या त बिरुवा सप्लाइ गर्नलाई वर्षौं नै करोडौं रकम छुट्याइन्छ ।
नेपालजस्तै विकासोन्मुख र आर्थिक रुपमा कमजोर मुलुकहरुमा छरिएको त्यस्तो बजेटले आममानिसमा के भ्रम पारेको छ भने, ‘तापक्रम बढ्नुको मुख्य कारण हाम्रो देश हो, हामीले रुख रोप्यौं भने विश्वकै वातावरण स्वच्छ हुन्छ ।’ हुन पनि धुवाँधुलो, मर्मत नगरिएका पुराना गाडी र त्यसले फ्याल्ने धुवाँ आदिजस्ता समस्या झेल्ने हामीजस्तै अविकसित देशका नागरिक नै हुन् । बढ्दो शहरीकरणका कारण वनविनाश पनि भइरहेको छ । तर, ‘ग्लोबल वार्मिङ’को मुख्य कारण यस्तै ससाना स्रोतबाट उत्पादन भएका धुवाँ र धुलो मात्रै हुन् त ? केही हदसम्म हुन सक्ला तर, ‘ग्लोबल वार्मिङ’ को मुख्य कारण हो, हरित गृह प्रभाव । र, यस प्रभावको मुख्य कारण हो, ठूल्ठूला उद्योग र कलकारखानाबाट उत्पादन भएका हानिकारक ग्यास र रसायनयुक्त पद्धार्थ ।
यसर्थमा उद्योग, कलकारखाना कै विकास हुन नसकेको हाम्रो जस्तो राष्ट्रहरु ‘ग्लोबल वार्मिङ’ को मुख्य कारक होइनन् बरु अन्य ठूला देशहरुको चपेटामा परेर त्यसको प्रभाव झेल्न बाध्य पारिएका हुन् भन्दै एक जमातले भन्छन् भने अरु विकसित देशले काम बिगार्यो भन्दैमा हामीले पनि उनीहरुको बाटो अपनाउनु हुँदैन भन्ने अर्को जमात भएको बताउँछिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता अर्चना श्रेष्ठ । ‘पहिल्यैदेखि विकसित देशले नगर्नु गल्ती गरिसक्यो अब हामी जस्तो विकासोन्मुख राष्ट्रले चाहिँ दीगो विकासको नीति अवलम्बन गर्नुपर्दछ,’ उनले आफ्नो विचार राखिन् ।
के हो हरितगृह प्रभाव ?
हरित गृह प्रभाव अर्थात् पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड, क्लोरोफ्लुरोकार्बन आदिजस्ता ग्यासहरु सुरक्षा कवचका रुपमा रहेर सूर्यको विकिरणलाई पृथ्वीमा प्रवेश गर्न नदिने र लाभदायी किरणलाई प्रवेश गर्न दिएर पृथ्वीमै रोकेर राख्ने प्रणाली । तर, बढ्दो औद्योगिकरण, जनसङ्ख्या वृद्धि, सहरीकरण, वनविनाश तथा सवारीसाधनबाट उत्पन्न हुने कार्बन डाइअक्साइड, कार्बन मोनो अक्साइड, मिथेन, सल्फर डाइअक्साइडजस्ता हानिकारक ग्यासहरु हरित गृह प्रभावकै कारण पृथ्वीमा रोकिन्छन् र पृथ्वीको तापक्रम वृद्धि हुन्छ । र परिणामस्वरुप, र्मासम परिवर्तन, खडेरी, बाढी पहिरो आदिजस्ता प्राकृतिक प्रकोपहरु आइलाग्छन् ।
हरितगृह ग्यास उत्पादनमा चीन सबैभन्दा अघि
उद्योग, खानी र मानवीय क्रियाकलापबाट चीनले ३० प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्दछ जुन सबैभन्दा बढी हो । चीनलाई पच्छ्याउँदै अमेरिकाले विश्वमै दोस्रो बढी अर्थात् १५ प्रतिशत हरित गृह ग्यास उत्पादन गर्दछ । यता नेपालको अवस्था हेर्ने हो भने जम्मा उत्पादनको ०.०२५ प्रतिशत मात्र हुनजान्छ । नेपालजस्ता अन्य अविकसित देशहरुको अवस्था लगभग उस्तै छ । यसर्थमा ‘ग्लोबल वार्मिङ’ सिर्जना गर्ने मुख्य दोष औद्योगिक र सम्पन्न राष्ट्रहरुको भएको देखिने बताउँछिन् प्रवक्ता श्रेष्ठ ।
आजैदेखि हरितगृह ग्यासको उत्सर्जन शुन्यमा झार्ने हो भने पनि औद्योगिकरण हुनुभन्दा अगाडिको अवस्थामा पु-याउन अझै १०० वर्ष लाग्ने जनाइएको छ ।
‘बिगार्ने एउटा, बेहोर्ने अर्को ?’
विकसित देशहरुले गर्दा दिनानुदिन बढिरहेको ‘ग्लोबल वार्मिङ’ले सबैभन्दा बढी क्षति अविकसित मुलुकलाई पु-याउने गरेको छ ।
अविकसित वा विकासोन्मुख राष्ट्रहरुको मुख्य पेशा कृषि हुने भएकाले पनि यस्ता देशहरु बढी जोखिमपूर्ण हुने र भोकमरी, महामारी आदिजस्ता समस्या समेत आइपर्ने श्रेष्ठ बताउँछिन् । अमेरिकाजस्तो देशले कृत्रिम वर्षा गराउन सक्ने, प्राकृतिक प्रकोपको पूर्वानुमान गरेर नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्ने भएकाले पनि विकसित देशहरुलाई यसको खासै प्रभाव नपर्ने उनी बताउँछन् ।
नेपालकै उदाहरण लिने हो भने पनि सन् १९७१ देखि २०१४ सम्मको अधिकतम तापक्रमको तथ्याङ्कलाई विश्लेषण गर्दा ०.०५६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ त्यस्तै काठमाडौंको अधिकतम तापक्रम ०.०४५ डिग्री सेल्सियसले वृद्धि भइरहेको श्रेष्ठले बताइन् ।
जलवायु जोखिमको हिसाबले भने नेपाल विश्वको चौथो स्थानमा पर्छ । कृषिप्रधान देश भएकाले यहाँको उर्वर जमिन नाश हुने, समयमा वर्षा नहुनाले खडेरी पर्ने, बाढीपहिरोले जनधनलाई विस्थापित गर्ने, पशुपन्छीको प्रजनन शक्तिमा ह्रास आउने जस्ता समस्याहरु देखापर्दै गएका छन् । यसर्थमा विकसित अथवा बढी हरित गृह ग्यास उत्पादन गर्ने देशहरुले नेपालजस्ता मुलुकलाई डोनेसन र क्षतिपूर्तिको प्रलोभनमा पारेको देख्न सकिन्छ । ‘हामीले रुख रोपेर, वातावरण जोगाएर आफ्नो राष्ट्रलाई झन् सुधार्दैछौं नि,’ यस विषयमा अर्चना भन्छिन्, ‘यदि त्यसो गर्दा विकसित देशले पैसा दिन्छन् भने किन नलिने ?’
कम्तीमा आफ्नै राष्ट्रमा स्वच्छ, सफा र प्रदूषणरहित वातावरण सिर्जना गर्न सकिन्छ भन्ने श्रेष्ठको मान्यता हो । र, वर्तमान अवस्थामा तापक्रमलाई सन्तुलनमा ल्याउनेभन्दा पनि तत्काल जे छ त्यसमा कसरी अनुकूलन हुने भन्ने कुरामा ध्यान दिनुपर्ने उनी बताउँछिन् ।
‘यो गर्मी कसरी छल्ने अथवा जाडोबाट कसरी बच्ने भन्ने कुरामा सरकारले ध्यानाकर्षण गर्ने हो भने कम्तीमा नागरिकले ज्यान त गुमाउनुपर्दैन,’ उनी सुझाउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया