अवरुद्ध डडेल्धुराको अस्पताल सेवा आजदेखि शुरु

काठमाडौं । तीन दिनदेखि अवरुद्ध रहेको डडेल्धुरा अस्पतालको सेवा आजदेखि  शुरु भएको  छ ।
शुक्रबार अस्पतालमा उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि सुरक्षाको कारण देखाउँदै कर्मचारी र चिकित्सकले आकस्मिकबाहेकका सबै काम ठप्प गरेका थिए ।

प्रशासनसहित जनप्रतिनिधिले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि अस्पतालका डाक्टरसहित अन्य कर्मचारी काममा फर्किएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । 

अस्पतालका चिकित्सकलाई प्रहरीसहित अन्य सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।
मृतक महिलाका आफन्तले शुक्रबार र शनिबार अस्पतालमा तोडफोड गरेका कारण सेवा सुविधा ठप्प भएको थियो । आइतबार अस्पतालका चिकित्सकसहित अन्य कर्मचारीले सुरक्षासाथै अस्पतालमा गरिएको तोडफोडको अनुसन्धान गर्नुपर्ने माग राख्दै आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरी सामूहिक बिदामा बस्ने निर्णय गरेका थिए ।

जीतेन्द्र कँडेलका अनुसार कोठाभित्र सुरक्षाका अनुभूति हुननसकेको भन्दै अस्पतालका चिकित्सकले सामूहिक रुपमा बाहिर गोलघरमा बसेर बिरामीको जाँच गरिरहेका छन् । शल्यक्रिया गर्ने कोठामा तोडफोड गरिएकोले केही दिन काम रोकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?