काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् ।
यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द हुने गर्ने भएको छ ।
हाल नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानल विदेशी छन् । भारतीय टीभी च्यानल प्रसारकहरूको संस्था इन्डियन ब्रोडकास्टिङ फोरमले नेपाललाई मात्रै क्लीन फिड दिन व्यावहारिक र व्यावसायिक रूपमा समर्थ नहुने बताएको केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
क्लीन फिडको व्यवस्था लागू हुँदा पूर्ण डिजिटलाइजेशनको क्रममा रहेको टीभी व्यवसायको अर्बौं रुपैयाँको लगानी डुब्ने उनको भनाइ छ ।
केबल टेलिभिजन महासंघका अनुसार सरकारले चाहेजस्तो क्लीन फिड लागू गर्दा नेपालमा सर्वाधिक रुचाइएका कलर्स, स्टार प्लस, जी टीभी, स्टार स्पोर्टस्, सोनी लगायत च्यानलहरू नेपालीले हेर्न पाउने छैनन् ।
यस्तै, नेपालमा सञ्चालित केबल टीभी, डीटीएच, आईपीटीभी लगायत प्रविधिबाट सेवा दिइरहेका कम्पनीहरूले नेपाली च्यानलहरू मात्रै देखाएर ग्राहकसँग मासिक शुल्क उठाउन नसक्ने महासंघको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया