उल्टो महाभारत सुरु

म सकेसम्म राजनीतिसँग जोडिने विषय बोल्न र लेख्न चाहन्न । 

राजनीतिमा विभाजित हुने इच्छा पनि छैन ।

जोसुकैका पनि राम्रा कुराको म समर्थन गर्छु । अमुक पक्षले बोलेको भन्दैमा मेरो कुनै मनसाय बन्दैन ।

कसैको पक्षधर नबनियोस् भन्ने आग्रहका कारण पनि कतिपय बोल्नै पर्ने कुरा बोलिएन ।

तर आज यो गुठीविधेयकको कुराले मुख खोल्न बाध्य बनायो । गुठी विधेयकसम्बन्धी मेरो मनसायले तत्काल मूर्त रूप लिन सक्ला वा नसक्ला, तर यो यस्तै लागु भयो भने यसले हाम्रो परमपरागत धर्म संस्कृतिको र राष्ट्रिय पहिचानको समेत अस्तित्व संकटमा पर्छ । यसले सर्वनाशको समेत सङ्केत अवश्य गर्छ । 

हालै सरकारका तर्फबाट सरोकारवालासँग छलफल नगरी अकस्मात् गुठी विधेयक ल्याइयो । विरोधमा विभिन्न आवाजहरू उठे । त्यसको कुनै सुनुबाई भएन । शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि उल्टै लाठिचार्ज गरियो । पानीको फोहोराले हानियो । लछार पछार पारियो । प्राज्ञिक वर्गले विपक्षमा राय प्रस्तुत गरे । सुनुवाई भएन । हुने लक्षण पनि छैन । अब विस्तारै कुरा नबुझ्नेले पनि कुरा बुझ्न थाले ।

 

यो त होली वाइन प्रकरणको निरन्तरता रहेछ । यस्ता धेरै प्रकरण आउने तयारी होला । बिस्तारै नेपालको अस्तित्व बचाउने यहाँका परम्पराहरू लोप गराइदै छ । संस्कृतिशून्य बनाइदै छ । धर्मनिरपेक्षता बनाइसकियो । त्यतिखेर धेरैले मौन समर्थन गरे ।  

विरोध नगर्नु नै मौनसमर्थन थियो । कतिपयले हिन्दुराष्ट्र भनेको भारतीय दलालीपन भन्ने बुझ्थे । कतिपयले नबुझेर पनि त्यसो भनेहोलान् । कतिपय राजनीतिक दलको अन्धभक्तिले धर्मनिरपेक्षताको समर्थन गरे ।

तर त्यो धर्म निरपेक्षता धर्मनिरपेक्षताका लागि थिएन । देशलाई  तहस नहस बनाउने र त्यसै बहानामा पश्चिमा शक्तिकेन्द्रको घुसपैठका लागि ल्याइएको दीर्घकालीन कार्यक्रमको पूर्वाभ्यास थियो । यहाँका नेताहरूले आफ्नै बुद्धिविवेकको प्रयोग गरेर धर्मनिरपेक्षता लागु गरेको भए जे हुन्थ्यो हुन्थ्यो, यो त अरूको इच्छाबाट विना छलफल अकस्मात् लादियो । 

***
आज फेरि बीचमा होली वाइनको कुरा आयो ।

अरू सबै कुराको चर्चा मैले गरिन, तर त्यतिखेर त्यस्तो संस्थाको कार्यक्रममा प्रधानमन्त्री स्वयंले डेरा सरेर त्यतै लम्पसार हुनुहुदैनथ्यो भन्ने मेरो धारणा थियो । त्यसपछि हाम्रा सम्माननीय प्रधानमन्त्रीले अमुक विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि लिनुभयो । अचम्म लाग्छ । त्यो विश्वविद्यालयको उद्देश्य र विगतका गतिविधि पढेसुनेपछि मलाई लाज लाग्यो ।

मेरो प्रधानमन्त्रीज्यूलाई  त्यो धर्मान्तरणकै लागि खुलेको कथित विश्वविद्यालयको प्रमाण पत्र लिन किन रहर जाग्यो भन्ने प्रश्नले सतायो । आज अप्रत्यासित रूपमा गुठी विधेयक आयो । स्वर्गद्वारी तर्सियो । काठमाण्डौ कुणियो । जनकपुर जंगियो देवघाट दुब्लाउने भयो । देशभर धेरै गुठी छन् । केही पुराना, केही नयाँ । भिन्न भिन्न प्रकृतिका । सबैला यौटै डोकोमा हाल्ने रे ।

गुठीबाट चलेका मठ/ मन्दिर, गुरुकुल, जात्रा पर्व सबैको गाईजात्रा हुने भयो । कही नभएको जात्रा हाँडीगाउँमा भनेझै भयो । जनतामा अकल्पनीय भय भएको छ । अब त बुढी मरी भन्ने कुराले भन्दा पनि काल पल्कियो भन्ने कुराले सताउन थाल्यो । साधु सन्त विधेयक फिर्ता नलिए प्रलय आउँछ भन्छन् । धेरैले यो कुरा पत्याएनन् होला तर म संवेदनशील बनेको छु । धर्म र संस्कृति आस्थाका कुरा हुन् । जीवनका अभिन्न अङ्ग बनेका छन् ।

यिनमाथि प्रहार नगरेकै राम्रो । यसबाट कि देशको प्रलय, कि त नियतवश यस्तो निर्णय गर्ने राजनीतिक दलको प्रलय अवश्य हुन्छ । 

दिन सँधै एकै हुँदैनन् । मागेको रोटीले पेट भरिन्न भन्ने कुरा बुझ्नु पर्छ । जनता सधै अबुझ हुदैनन् । 

राजनीति १,२ दिन मात्र गरेर हुँदैन, दीर्घकालसम्म इज्जत जोगाउन इज्जतिलो काम गर्नुपर्छ । जिम्मेवार व्यक्ति सँधै अबुझ बन्न सुहाउँदैन । दुइ तिहाइको लोकप्रिय (?) सरकार साच्चै लोकप्रिय बनोस् हाम्रो शुभकामना छ । 

 

तर याद दिलाउनै पर्छ, यो सरकारको बहुमत यिनीहरूले राम्रो मुद्दा लिएका कारणले अएको पक्कै होइन । विगतमा ठुलो दल मानिएको अमुक दलप्रतिको असन्तुष्टिको परिणाममा आएको बहुमत हो । यस्ता जनमतको भरोसा हुँदैन । अब यो राम्रो काम गरी देखाउने बेला थियो, त्यो भएन । यस्तो बेलामा अझ बडी सम्बेदनशील हुनुपर्ने हो । उच्छृङ्खल बने छिटै दण्डको भागी बन्नुपर्छ भन्नेकुरा सम्बद्धले हेक्का राखे राम्रो । 

 

यो त सरकारको भलो चिताएर भनेको कुरा भयो । तर सरकारमा बसेका मानिसहरूको गैर जिम्मेवार कुरा सुन्दा धार्मिक समुदाय साच्चिकै झस्किएको छ । समाचार आयो दाङ्का सांसद मेटमणि चौधरीले भने पशुपतिनाथ हाम्रो सम्पदा होइन र  गुठी जति सबै किसानहरूको जग्गा हडपी शोषण गरिएको हो । के यो भनाइ सरकारको हो रु पार्टीको पनि हो रु हो भने हामी पनि त्यसै बमोजिम धारणा बनाऊँ । हामीलार्इ निधो चाहियो ।

विगतमा हामीले पटक पटक भन्यौ धर्म र संस्कृति संम्बेलनशी विषय हुन् यस्ता विषयमा सम्बद्ध पक्षको परामर्श लिनुपर्छ । जथाभावी निर्णय गर्नुहुँदैन । तर त्यसको सुवाइ भएन ।

देशलाई  विदेशीहरूको इशारामा धर्म निरपेक्ष बनाइयो । यो कुरा ९० % जनतालाई मन परेन ।

जनताले हिन्दुराष्ट्रको पक्षमा ठेलीका ठेली सुझाब पठाए । ती सुझाब रद्दीको टोकरीमा फालियो । यो जनताको ठुलै अपमान हो, तर जनताले सहे । कतिले त बुझेर पनि बुझ पचाए । किन भने अमुक पार्टीको सती जानु उनीहरूको बाध्यता थियो ।

 

जनताले हिन्दुराष्ट्रको पक्षमा ठेलीका ठेली सुझाब पठाए । ती सुझाब रद्दीको टोकरीमा फालियो । यो जनताको ठुलै अपमान हो, तर जनताले सहे । कतिले त बुझेर पनि बुझ पचाए । किन भने अमुक पार्टीको सती जानु उनीहरूको बाध्यता थियो ।

 

यस बीचमा कतिपयलाई  जाति वर्ग र समुदायमा बाँडेर, वा पक्ष विपक्षमा भाँडेर पनि धर्म निरपेक्षता लाद्न सजिलो भयो ।

 

यो पाश्चात्य महाभारतको पहिलो अदिपर्व थियो, यसलालाई  स्वधर्मपरित्याग नामक पहिलो पर्व पनि भन्न सकिन्छ ।

 

दोस्रो होली पर्व हो । यो परधर्माङ्गीकार नामक सभा पर्व भयो । यसकै उपपर्व महाअविद्यावारिधि पर्व हो । तेस्रो पर्व यो गुठी विधेयक पर्व हो । यसलाई  संस्कृतिनाशक पर्वको आरम्भ भन्न मिल्छ । यस्ता अरू पर्वहरू आउने संकेत छ । 

यी सबै महाभारतको महायुद्धका तयारी हुन् । त्यस्तो नहोस् भन्ने हामी चाहन्छौँ । त्यसैले फेरि पनि प्रश्न छ, सरकार के साँच्चै गैरजिम्मेवार बनेकै हो  ?

– लेखक सहप्राध्यापक गुरुप्रसाद सुवेदी  देवघाट क्षेत्र विकास समितीका पूर्वअध्यक्ष तथा देवघाटस्थित महेश विद्यापीठका प्राचार्य हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?