इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

एजेन्सी । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ ।
  
कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् । सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।
 
मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो । हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुनसक्ने एमनेस्टीको आशंका छ । मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।

राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ । उनी इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिनुहुन्छ । उनले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राख्नु भएको उनका निकटस्थहरुले जनाएका छन् ।
 
“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उनी ढले, त्यसपछि तत्कालै उनलाई अस्पताल लगियो, तर अस्पतालले उनको निधन भइसकेको घोषणा ग-यो” न्यायधिवक्ताको कार्यालयले भनेको छ । “उनलाई स्थानीय समयानुसार अपरान्ह ४-५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उनको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,” अस्पताल श्रोतले भन्यो ।
  
उनका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो । उनी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।
 
जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालत उपस्थित भएका थिए । उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउदै आएका छन । 

उनको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्किन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?