अब विदेशमा रहेका नेपाली कामदारले दूतावासबाटै पुन: श्रम स्वीकृति लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाउने भएकाे छ । 

विभागका अनुसार विदेशमा रहेका नेपाली कामदारले सम्बन्धित देश हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्ने गरी तयारी भइ रहेकाे छ  ।

श्रम स्कीकृति लिनका लागि बुझाउनुपर्ने कल्याणकारी कोष र बिमा बापतको रकम अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने विभागको तयारी छ ।

यसभन्दा पहिले पुन: श्रम स्वीकृति लिनको लागि नेपालमै आउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले विदेशमा गएका कामदारलाई सजिलो हुने विश्वास लिइएकाे छ ।

यस प्रयोजनका लागि कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त अनलाइन सेवा प्रदायक कम्पनीबाट भुक्तानी गर्न सक्ने गरी विभागको अनलाइन प्रणालीबाट सफल परीक्षण भइसकेको छ ।

यो व्यवस्था लागू भइसकेपछि वैदेशिक रोजगारीमा जाने कामदारले बुझाउनुपर्ने बिमा वापतको रकम सबै बिमा कम्पनीबाट भुक्तानी गर्न सकिने गरी खुल्ला गरिनेछ । यसभन्दा पहिले सीमित बिमा कम्पनीमा मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था थियो ।

बिमा वापतको रकम अनलाइन भुक्तानी सेवा स्वीकृति लिएका सेवा प्रदायक कम्पनी जस्तै खल्ती, ई सेवा, प्रभु पे, कनेक्टर आईपीएस लगायतबाट गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?