काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं ८ जरङ्खुमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् ।
बिहिबार बिहान काभ्रेस्थली रत्नपार्क रुटमा चल्ने २३ नं रुटको बा ४ ख ९६७० नम्बरको बसले सोही दिशाबाट आउँदै गएको बा ८२ प ४५ ९३ नम्बरको मोटरसाईकललाई जरङ्खु पुलमा ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका हुन् ।
घाईते हुनेमा काठमाडौँको मनमैजु बस्ने वर्ष १७ का सुजन बञ्जारा र जरङ्खु बस्ने वर्ष २३ का रामप्रसाद ठाकुर घाईते भएका छन् ।
बसले ठक्कर दिएलगत्तै उनीहरुलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएकोमा अहिले ग्राण्डिसिटी अस्पताल रिफर गरिएको छ ।
महानगरिय प्रहरी वृत बालाजु काठमाडौँले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले बसमा तोडफोड गरेका थिए । स्थानीयको ढुंगामुडाबाट बसको सिसा पूर्ण रुपमा क्षति पुगेको छ । स्थानीयले २३ नम्बर रुटको बसले प्रतिष्पर्धा गरेर स्थानीयको ज्यान लिएको भन्दै २३ नं को रुटखारेजीको माग गर्दै नाराबाजी समेत गरेका छन् ।
तारकेश्वर नगरपालिका क्षेत्रमा एकल रुपमा सञ्चालन हुदै आएको २३ नं रुटको सार्वजनिक बसले धेरै मानिसको ज्यान लिईसकेको छ ।
स्थानीयको ढुंगामुडाबाट घटनास्थलमा रहेका प्रहरी जवान विक्रम थापा घाइते भएका छन् । अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया