ओली-प्रचण्डबीच भेटवार्ता: मन्त्रिमण्डल पुनर्गठनबारे यस्तो छलफल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल भएको बताएका छन्।

पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक बोलाएर निर्णय गरिने बताए।

उनले सरकार र पार्टी सञ्चालनमा भएको विषयमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएकाले आफूले बोलेको कुरा कुनै नौलो विषय नभएको बताए। 

अध्यक्ष दाहालले आफूले पहिलेको सहमति संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने अभिव्यक्ति दिएको बताए।

पार्टी एकतालाई सफल पार्ने विषय अहिलेको अनिवार्य शर्त रहेको बताउँदै उनले एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि नभएको बताए।

अध्यक्ष दाहालले भने ‘हिजो भएका समझदारी सहमति र संकल्पभन्दा बाहिरबाट जसले दायँबायाँ कुरा गरे पनि त्यो अहित नै हुन्छ। पार्टी एक नहोस् भनेर बाहिरबाट निक्कै चलखेल भएको छ। एकता र प्रतिबद्धतालाई हल्काफुल्का तरिकाले दायाँबायाँ गर्ने छुट कसैलाई पनि छैन।’

अध्यक्ष दाहालले पछिल्लो समयमा सरकारले ल्याएको विधेयका बारेमा जनस्तरबाट टिकाटिप्पणी भएकाले ती विधेयकहरु सच्याएर नै जानुपर्ने बताए। 

उनले संसदमा भइकसेका विधेयक संसदीय प्रकृयाबाट परिमार्जन गरेर जानुको विकल्प नभएको र आफूले प्रधानमन्त्रीसँग त्यही हिसाबले कुरा गरेको जानकारी पनि दिएका छन्।

उनले असार ८ गते अघि नै संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुले पदाधिकारी पाउने जानकारी पनि दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?