युवा स्वरोजगार कार्यक्रमसगैं, ओरालो लाग्यो वैदेशिक रोजगारी

काठमाडौं । सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ ।

पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या निरन्तर घटेको सरकारी आँकडा छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठमा ४० हजार ९ सय १ पुरुष र दुई हजार ७ सय ३५ महिला गरी ४३ हजार ६ सय ५४ युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

वैशाखमा भने ४५ हजार ८ सय ७८ पुरुष र दुई हजार ८ सय ७८ महिला गरी ४८ हजार ७ सय ५६ युवा बाहिरिएका थिए । त्यसैगरी चैतमा ४२ हजार १ सय ८६ पुरुष र दुई हजार ७ सय १९ महिला गरी ४४ हजार ९ सय ५ तथा  फागुनमा ४१ हजार ९ सय ५ पुरुष र दुई हजार ७ सय ८३ महिला गरी  ४४ हजार ६ सय ८८ युवा रोजगारीका लागि विदेश गएका थिए । 

जेठमा १७ हजार ४ सय ३१ पुरुष र एक हजार ५ सय २१ महिला गरी १८ हजार ९ सय ५२ युवा संस्थागत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । सोही अवधिमा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २१ हजार ३ सय ८३ पुरुष र ८ सय ५५ महिला रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ६ १५ पुरुष र २ सय ५४ महिला गरी ८ सय ६९ युवा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । 

वैधानिकीकरण गरी कामको स्वीकृति लिने युवाको सङ्ख्या पनि उल्लेखनीय देखिएको छ । गत महिना एक हजार ४ सय ७२ पुरुष र १ सय २३ महिला गरी एक हजार ५ सय ९५ युवाले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिएका छन् । गत वर्ष सोही अवधिमा ४६ हजार ७ सय १७ पुरुष र दुई हजार ५ सय ८२ महिला गरी कूल ४९ हजार २ सय ९९ युवा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

चालु आर्थिक वर्षमा सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ र युवा उद्यमशीलता प्रवद्र्धन गर्न विभिन्न प्रकारका सहुलियत कर्जा कार्यक्रम ल्याएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उनीहरुले सिकेका सीपका आधारमा स्वरोजगार बन्नका लागि सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न शुरु गरिसकेको छ ।

सरकारले ल्याएको युवा लक्षित कार्यक्रमको प्रभावका कारण नै वैदेशिक रोजगारीमा जाने क्रम घटेको सरकारी अधिकारीको जिकिर छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष र  सीपयुक्त बनाएर पठाउने नीति लिइएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको सङ्ख्या भने निकै ठूलो रहेको पाइएको छ ।

विभागका अनुसार जेठमा २३ हजार ३ सय ३६ पुरुष र एक हजार ६ सय ६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार विदेशिएको विभागले जनाएको छ । सोही अवधिमा १३ हजार ८ सय ५ पुरुष र ७ सय ९८ महिला गरी १४ हजार ६ सय ३ दक्ष कामदार श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी तीन हजार ६ सय ७८ पुरुष र २ सय ८५ महिलासहित तीन हजार ९ सय ६३ अर्धदक्ष, व्यावसायिक सीप हासिल गरेका ७६ पुरुष र तीन महिला तथा उच्च सीपयुक्त छ पुरुष श्रम स्वीकृति लिई विदेश गएका छन् ।

पछिल्लो समय सरकारले व्यावसायिक सीप नसिकेका श्रमिकलाई वैदेशिक रोजगारीमा जान कडाइ गर्ने नीति अख्तियार गरेको छ । विभागले यही असार १५ गतेदेखि  १२ प्रकारका कामका लागि सीप सिकेको प्रमाणपत्र पेश गरेर मात्र श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजागर बोर्डमार्फत सीपयुक्त बनाउने सरकारको तयारी छ ।

गत जेठमा व्यक्तिगत ठगीका ६४ उजुरी विभागमा दर्ता भएका छन् । वैशाखसम्म विभागमा व्यक्तिगत ठगीका कूल ६ सय ५७ उजुरी परेका थिए । व्यक्तिगत ठगीतर्फ रु सात करोड ६१ लाख १३ हजार ७ सय ५० जिकिर गरिएको छ । जेठमा व्यक्तिगत ठगीका ३३  उजुरीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिउका छन् ।

त्यसैगरी विभागमा गत महिनामा संस्थागत १०० उजुरी परेका छन् । संस्थागत उजुरीबापत दुई करोड १९ लाख ४१ हजार ८५ दावी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?