बलिउडका यी चर्चित हिरो, हिरोइन जो गोरोपनको विज्ञापन गर्दैनन्

‘फेयरनेस क्रिम’को विज्ञापन खेलेवापत भारी रकम लिँदै आएका छन् कतिपय भारतीय अभिनेता तथा अभिनेत्रीले । तर, त्यही भीडमा केही यस्ता कलाकार पनि छन् जो गोरो छालाको विज्ञापनमा देखिन मान्दैनन् । एक किसिमले उनीहरुले त्यस्ता विज्ञापनलाई आफ्नो जविनमा पूरै प्रतिबन्ध नै लगाएका छन् । यसो गर्ने केही चर्चित अभिनेता/अभिनेत्री हुन् : कंगना रनावत, रणवीर कपुर, कल्की कोचलिन, रणदीप हुडा, स्वरा भास्कर आदि ।

बलिउडमा अहिले आफ्नो अभिनयमार्फत् ‘राज’ गरिरहेकी अभिनेत्री कंगनाले यति सफल नहुँदा पनि फेयरनेस क्रिमको विज्ञापन गर्न मानेकी थिइनन् । उनले २ करोड बराबरको उक्त विज्ञापनलाई ‘सेतो–कालो छालाको बारेमा मैले कहिले बुझ्न सकिन, आउने पुस्ताका निमित्त हामी कस्तो उदाहरण बन्दै छौं भनेर होसियार हुनुपर्छ, सार्वजनिक व्यक्तित्वको हैसियतले मेरा केही कर्तव्यहरु छन्’ भन्दै सोझै नकारेकी थिइन् ।

त्यस्तै, उदीयमान अभिनेता रणवीर कपुरले सन् २०११ मा ९ करोड बराबरको फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरेका थिए ।

रियलिस्टिक अभिनयका लागि चर्चित नायिका कल्की कोचलिनले एक कार्यक्रममा मिडियाकर्मीसँग बोल्दै भारतमा गोरो छालाको चाहना अधिक भएकाले आफू गोरो छालालाई प्रोत्साहन दिने विज्ञापन गर्न नचाहेको बताएकी थिइन् ।  

सर्वजित, हाइवे जस्ता चलचित्रमा दमदार प्रस्तुति दिएर दर्शकको मन जित्न सफल अभिनेता रणदीप हुडा ‘छालाको रङ्ग’को विषयमा निकै स्पष्ट विचार राख्छन् । उनका अनुसार संसारमा गोरो छालाका पछि पागलजस्तै दौडने एक मात्र राष्ट्र भारत हो । त्यसैले यस्तो विचारलाई बढावा दिने विज्ञापनमा आफू कहिले पनि नदेखिने विचार उनले राखेका छन् । 

सन् २०१५ मा आएको फेयरनेस क्रिमको विज्ञापनको अफरलाई ठाडै अस्वीकार गरेर अभिनेत्री स्वरा भास्करले पनि यस विषयमा आफ्नो स्पष्ट धारणा राखेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?