विकासलाई कछुवा गतिमा नभइ वायूपंखि घोडाको बेगमा कुदाउनुपर्छ: डा.भट्टराई

काठमाडौं।  पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले पेश गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै डा. बाबुराम भट्टराईले अर्थमन्त्री बजेट सन्तुष्ट खालको नभएको बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले समाजवादको नाममा बजेटलाई उत्पादनमुखी भन्दा वितरणमुखि बनाउन खोजेको आरोप लगाएका हुन्  ।

‘हाम्रो आवश्यकता त्यतिले पुग्दैन । दुई तिहाइको सरकार बनेको अवस्थामा हिजोको निरन्तरतासँग दाजेर हुँदैन । पञ्चायतकाल र राजतन्त्रको बजेटसँग तुलना गरेर सन्तोष लिन हुन्न’ भट्टराईले भने ।

देशको विकासलाई कछुवा गतिमा नभइ वायूपंखि घोडाको बेगमा कुदाउनु पर्ने र छलाङ मार्नुपर्ने अवस्था रहेको डा. भट्टराईको भनाइ छ ।

प्रतिपक्षी र सत्तापक्षको आँखाले नहेरि नागरिकको आँखाले हेर्ने हो भने बजेटमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको उनले बताए ।

डा. भट्टराईले भारत र चीनसँग समदूरी वा बराबरीमा जान नसकिने बताए । ‘चिनियाँ अर्थतन्त्र एकदमै अगाडि आएपनि हिमाल पारी, यातायात लगायतका असुविधाका कारण अहिले नै हामी भारत र चीनसँग समदुरी वा बराबरीमा जान सक्दैनौं’ डा. भट्टराईले भने,‘ भारत प्रति नै हाम्रो अर्थतन्त्र आश्रित छ । यसलाई व्यवस्थापन गर्ने गरि नीति बनाउनुपर्छ ।’

अबको तीन चार दशकसम्म भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने उनको भनाइ छ ।

चीनसँगको सम्बन्धलाई पनि अघि बढाउँदै गएपनि भारतसँगको आयात निर्यातको सम्बन्धलाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?