खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताएका छन् ।

नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ द्वारा आज आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उनले खेलाडीले गर्ने प्रतिस्पर्धाका कारण सम्बन्धित मुलुकबीच दौँत्य सम्बन्ध कायम हुने र मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा तेक्वान्दो खेलले उल्लेखनीय भूमिका खेलेको भन्दै यस खेलको विकासका लागि आफू र आफ्नो मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । आजदेखि शुरु भएको दुईदिने उक्त प्रतियोगितामा सात प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।

ग्योरीगीतर्फ नौ पुरुष र सात महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका तीन महिला तीन पुरुष गरी कूल १ सय ५४ खेलाडी सहभागी छन् । खेल दौरान खेलाडीलाई चोटपटक लागेमा  एक लाखसम्मको दुर्घटना बीमासमेत गरिएको आयोजकले जनाएको छ ।    

कार्यक्रममा दोस्रो क्लास रेफ्री उत्तीर्ण हुनु भएको नवीनकुमार श्रेष्ठ, ओलम्पियन सङ्गीना वैद्य, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकूद परिषद्का तालीम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एशियाली तथा दक्षिण एशियाली पदक विजेता मनिता शाहीलगायतलाई सम्मान गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?