मापसे गरी पतिले घरमा आगो लगाए, पत्नीको जलेर मृत्यु

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका-२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् ।

मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए ।

घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका-२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताउका छन् । घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।
 
घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो ।

बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन् । आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?