साउन देखि नै बजेट कार्यान्वयन गर्ने गरी कार्ययोजनाको तयारीमा सरकार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी कार्ययोजनाको तयारी गरेको छ ।

अर्थसचिव डा.राजन खनालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत बजेट कार्यान्वयनको कार्ययोजना बनाइ कार्यान्वयन गर्न लागिएको जानकारी दिए । 
चालु आर्थिक कानुन निर्माणमा धेरै समय दिएको तर आगामी वर्ष आर्थिक वर्षको सुरुबाटै बजेट कार्यान्वयनमा लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

‘यस वर्ष मौलिक हकसंग सम्बन्धित धेरै कानुन निर्माणमा हामीले समय दिनुपर्यो ।’ सचिव खनालले भने, ‘अब त्यो काम बाँकी छैन, त्यसैले साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी काम गर्न खोजेका छौँ ।’ 

यसअघि बजेटलगत्तै प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुसंग बजेट कार्यान्वयनको खाका माग गरेको सरकारले, यसपटक असारको तेस्रो साता संसदको दुवै सदनबाट बजेट पास हुने र साउन अघि नै कार्ययोजना बनाई सम्पूर्ण निकायमा कार्यान्वयनका लागि पठाउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षमा ३० प्रतिशतले पुँजीगत बजेट बढाएको सरकारले ठूला आयोजनामा पर्याप्त बजेट दिइएकाले आगामी वर्ष ती आयोजना कार्यान्वयन हुन सके उपलब्धि हासिल गर्न सकिने विश्वास लिएको छ ।

आगामी वर्ष ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने सरकारले प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?