डेम स्टिफेनीका अनुसार उनका आमाबुबाले तत्कालीन नाजीको क्रुरताबाट आफू र आफ्नी दिदीलाई जोगाउन सक्दो प्रयास गरे । स्टिफेनीका याहुदी पिता न्यायाधीश थिए । उनले सोचेका थिए आफू शक्तिशाली भएकाले आफ्नो परिवारलाई कसैले हानी गर्न सक्दैन तर, नाजीहरुको अराजकता झन्झन् बढ्दै गएपछि उनी परिवारलाई लिएर अस्ट्रियाको राजधानी भिएनामा बसाइ सरे ।
यद्यपि, बसाइसराइले उनीहरुलाई खासै लामो समयसम्म सुरक्षा दिन सकेन । सन् १९३८ मा नाजीहरुले अस्ट्रियामाथि अतिक्रमण गरेपछि उनीहरुको दमन र शोषणले झन् विकराल रुप लियो जसकारण स्टिफेनीका आमाबुबा उनी र उनकी दिदी रिनेटलाई शर्णार्थी बालबालिकाका रुपमा बेलायत पठाउन बाध्य भए । सन् १९३९ मा, दोस्रो विश्व युद्ध शुरु हुनुभन्दा ठीक २ महिनाअघि ५ वर्षीय स्टिफेनी र ९ वर्षीय रिनेटलाई शरणार्थी बालबालिका बोक्ने रेलमा चढाएर बेलायत पठाइयो ।
‘मैले मेरो दिदीको हात जोडले समातेको थिएँ,’ ८५ वर्षीय स्टिफेनी त्यो दर्दनाक क्षण स्मरण गर्छिन्,‘उसले आफ्नो र मेरो दुवैको ख्याल राख्नुपर्ने थियो ।’
‘म त्यसवेला डराएको भन्दा पनि दुखी थिएँ किनभने आफ्नो वरिपरि भइरहेको कुरा बुझ्ने उमेर भइसकेको थिएन,’ ८५ वर्षीय स्टिफेनी आफ्नो अनुभव सुनाउँछिन्, ‘मेरो गुडिया हराएको, एउटा सानो केटा बेलायत पुगुन्जेल गाडीमा बिरामी भएको यस्तै यस्तै यादहरु मात्रै धमिलो रुपमा याद छन् ।’
बाल्यकालमा झेलेको त्यस्तो घटनाले आफूलाई जीवनमा जसरी पनि सफल हुनैपर्छ भन्ने प्रेरणा दिएको स्टिफेनीले बताइन् । ‘जीवनको त्यो समयले मलाई जहिल्यै घच्घचाउँछ, अहिले पनि,’ उनले भनिन् ।
यस्तो अनिश्चित बाल्यकालबाट गुजे्रर आएकी स्टिफेनी १९५०-६० दशकमा प्रविधि र महिला अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाका रुपमा परिचित छिन् । स्टिफेनीे व्यवसायबाट सन्यास लिने वेलासम्ममा १ सय ५० मिलियन डलर्स बराबरको मालिक भइसकेकी थिइन् । त्यस सम्पत्तिको ठूलो हिस्सा उनले च्यारिटीमा दिइसकेकी छिन् ।
अस्ट्रियाबाट बेलायत आइसकेपछि उचित वातावरण र शिक्षा पाएकाले पनि आफू यस स्थानसम्म आइपुग्न सफल भएको उनी बताउँछिन् ।
स्टिफेनी र उनकी दिदीलाई बेलायतमा एक जोडीले ‘एडप्ट’ गरे । ती जोडीले आफूलाई आफ्नै छोराछोरीजस्तो गरेर हुर्काएको र निकै माया दिएको उनी सम्झिन्छिन् ।
स्टिफेनी गणितमा निकै अब्बल थिइन् । उनलाई यस विषयमा यतिसम्म रुचि थियो कि आफ्नो कक्षामा पढाइ हुने गणितबाट चित्त नबुझेर उनी नजिकैको केटा मात्रै पढ्ने स्कुलमा समेत जान्थिन् । ए लेभल्सको अध्ययनपछि उनले गणित विषयमा उच्च शिक्षा हासिल गर्ने योजना बुनिन् तर, दुर्भाग्यवश त्यसवेला महिलालाई विश्व विद्यालयमा गणित पढाइँदैनथ्यो । त्यसैले पढाइलाई बिट मार्दै उनले ‘पोस्ट अफिस रिसर्च स्टेसन’मा काम गर्न शुरु गरिन् ।
स्टिफेनी कम्प्युटरका लागि प्रोग्राम लेख्थिन् । सहकर्मी महिलाहरु निकै कम थिए । आफूलाई रुचि भएकै क्षेत्रमा काम गर्न पाउँदा र त्यही क्रममा आफ्ना जीवनसाथी डेरेक शर्लीलाई भेट्दा निकै खुसी भएपनि स्टिफेनी महिलालाई गरिने व्यवहारप्रति खासै सन्तुष्ट थिइनन् । ‘महिला भएकै कारण जति राम्रो काम गरेपनि मेरो बढुवा हुँदैनथ्यो,’ उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘पुरुषहरु हाम्रै अगाडि महिला कर्मचारी नियुक्त नगर्ने भन्थे ।’ यस्तो विभेदकारी वातावरणमा टिक्न अत्ति नै गाह्रो भएपछि उनले अन्ततः आफ्नै व्यवसाय खोल्ने निर्णय लिएर जागिर छाडिन् ।
नभन्दै स्टिफेनीले ‘फ्रिल्यान्स प्रोग्रामर्स’ नामक आफ्नै कम्पनी खोलिन् जसले भर्खर कम्प्युटर राख्न लागेका कम्पनीहरुलाई सफ्टवेयर बनाएर बेच्थ्यो । स्थापना गर्दैदेखि उनले सम्भव भएसम्म महिला कर्मचारीलाई मात्र काम दिने संकल्प गरेकी थिइन् । अझै महिलामा पनि बालबच्चा भएका आमाहरुलाई प्राथमिकतामा राखेर घरबाटै बालबच्चाको हेरचाह गर्दै काम गर्ने सहुलियत समेत दिएकी थिइन् । उनको यस नीतिले त्यसवेलाको औद्योगिक क्षेत्रमा क्रान्तिकारी बतास लिएर आयो । उनका पुराना पुरुष सहकर्मीहरु उनको कम्पनी घाटामा जाने कुरामा पूर्ण विश्वस्त थिए । ‘उनीहरु मलाई हेरेर हाँस्थे,’ उनी सम्झिन्छिन्, ‘म महिला भएकै कारण यतिसम्म झेल्नुपरेको थियो त्यसैले अब त झन् जसरी पनि सफल हुनैपर्छ भन्ने अठोट मनमनै लिइसकेकी थिएँ ।’
नभन्दै उनको सपना साकार भयो । कम्पनीले ‘हाइप’ पायो । एकताका ‘फ्रिल्यान्स प्रोगामर्स’ले ४ हजार महिलालाई रोजगारी दियो । व्यवसायमा एकाएक यत्रो फड्को मारिसक्दा पनि स्टिफेनीले ‘महिला–पुरुषबीचको विभेद’बाट छुट्कारा पाइसकेकी थिइनन् । उनले कम्पनीको प्रचारका लागि निवेदन पठाउँदा कहीँबाट प्रतिक्रिया आउँदैनथ्यो । निवेदकमा ‘स्टिफेनी’को ठाउँमा ‘स्टिभ’ रोखेपछि भने तुरुन्तै प्रतिक्रिया आउँथ्यो ।
लिङ्गको आधारमा हुने भेदभावमा अङ्कुश लगाउँदै नयाँ नीति ल्याएपछि सन् १९७५ मा कम्पनीको ढोका पुरुषका लागि पनि खोलियो ।
२५ वर्ष सम्म कम्पनी सञ्चालन गरेपछि सन् १९८७ मा स्टिफेनीले अरुलाई नै कम्पनी हस्तान्तरण गरिन् । प्रविधिको क्षेत्रमा पु-याएको योगदानको कदरस्वरुप बेलायत सरकारले उनलाई सन् २००० मा ‘डेम’ अथात् बेलायतमा महिलालाई प्रदान गरिने सबैभन्दा ठूलो उपाधिमध्ये एकले सम्मानित समेत गरेको छ ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया