पहिरोले २८ परिवार विस्थापित

खाँदबारी-सङ्खुवासभाकोे मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् । गएको साता मुसलधारे पानीपछि पहिरो जाँदा उनीहरु विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताउनुभयो ।

    “पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उहाँले भन्नुभयो, “पीडित परिवार उद्धारको पर्खाइमा छन् ।” घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरुलाई के खाने भन्ने चिन्ता परेको राईले बताउनुभयो ।

    स्थानीयवासी शैलेन्द्र राई पहिरोका कारण बाटोघाटो भन्द भएको बताउनुहुन्छ । खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ । “आकाशेपानी सङ्कलन गरेर पिउने गरेका छौँ”, उहाँले भन्नुभयो । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ । उनीहरु किनमेल गर्न नुम र हेदाना बजार पुग्न सकिरहेका छैनन् ।

    पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताउनुभयो । गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्याङ्की र ७४ त्रिपाल खरीद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?