बाढीले पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं । हिजो राति देखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन्, भने पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएको रौतहट प्रहरीले जनाएको छ ।

लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?