काठमाण्डौं । उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले प्राप्त गरेको छ ।
राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो । जसमध्ये उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले प्राप्त गरेको हो । यस्तै निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्र सहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ ।
यस्तै, ‘उत्कृष्ट निर्देशक’तर्फ ‘बुलबुल’बाट बिनोद पौडेलले पुरस्कार प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेता’को पुरस्कार विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट प्राप्त गरेका छन् ।
यस्तै, ‘उत्कृष्ट अभिनेत्री’तर्फ स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’बाट पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट सम्पादनको विधामा चलचित्र ‘साँइली’का लागि निमेष श्रेष्ठले पुरस्कार प्राप्त गर्दा उत्कृष्ट छायांकनतर्फ भने ‘समर लभ’बाट संजय लामाले राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् ।
उत्कृष्ट लेखन विधामा कथातर्फ दिपेन्द्र लामा चलचित्र ‘गोपी’बाट पुरस्कृत हुँदा यही चलचित्रबाट पटकथा तथा संवाद विधामा सामिप्यराज तिमिल्सिनाले पुरस्कार जिते । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन् ।
यस्तै, जुरी प्रोत्साहन सम्मानबाट चलचित्र ‘भोर’बाट कलाकार पूजा कर्णलाई पुरस्कार प्रदान गरियो । ‘चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान’ गतबर्षको सर्वा्धिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’को निर्माण ब्यानर आमा सरस्वती मुभिजलाई प्रदान गरियो । उत्कृष्ट चलचित्र(आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को पुरस्कार रिजे नासाँले प्राप्त गरेको छ ।
विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर नृत्य प्रस्तुत समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र क्षेत्रले देशको कला, संकृतीको विकास र विस्तारका लागि काम गर्नुपर्ने बताइन् । यस्तै, उनले सरकारले मनाउन लागेको ‘भिजिट नेपाल–२०२०’लाई सफल बनाउन चलचित्रकर्मीलाई आग्रह पनि गरिन् ।
कार्यक्रमममा विशिष्ट अतिथी संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले अर्को बर्ष शित्तल निवास भन्दा बाहिर भव्य रुपमा अवार्ड आयोजना गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया