अस्पतालबाटै हराएको नवजात शिशु भेटियो, शिशु चोर्ने महिला पक्राउ

काठमाडौं । लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३:०० बजेतिर अस्पतालबाट हराएको थियो ।

कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा आज बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मी बजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले हराएको शिशु र शिशुलाई चोर्ने महिलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याइरहेको बताए ।

प्रसूतिका लागि जमुना शुक्रबार बिहान ९:३० बजे लुम्बिनी मेडिकल कलेजमा आएकी थिइन्। बिहान ११:५६ मिनेटमा रानाको दुई किलो ७१० ग्रामको शिशु जन्मेको थियो । सुत्केरी छोरी जमुना रेखदेखका लागि आमा अस्पतालमा रहेकी थिइन् ।

करीब अपराह्न २:०० बजे अपरिचित महिलाले जमुनाको आमासँग भर्खर जन्मेको शिशुलाई खेलाउन मागेको तथ्य बाहिर आएको छ । आमाले छोरी जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिलाले शिशु चोरेर भागेको प्रहरीले जनाएको छ ।

अस्पतालमा सिसीटिभी नभए पनि होटलको सिसीटिभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग रहेको फुटेजका आधारमा महिलाले पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो । करीब ४५ वर्षीया महिला हुनुपर्ने प्रहरीको अनुमान छ । ती महिलाको अझै सनाखत हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?